१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने मेयर साहको निर्णय


1.911k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

नवनिर्वाचित मेयर बालेन साहले सोमबार पदभार ग्रहण गरे लगत्तै बैठकको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गर्नुभएको हो ।

सुन्धारास्थित महानगरको कार्यालयमा पुगेर उहाँले सोमबार पदभार ग्रहण गर्नुभएको हो । सोमबार अपरान्ह ४ बजेका लागि नगर कार्यपालिकाको बैठक बोलाइएको छ ।

साथै उहाँले फोहोर व्यवस्थापनको कामलाई प्राथमिकता दिने पनि बताउनुभयो । यस अघि महानगर प्रमुख शाहले पद तथा गोपनियताको सपथ लिनुभएको थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुख शाहलाई सपथग्रहण गराउनुभएको हो ।

उहाँले मुख्य निर्वाचन अधिकृत खतिवडाबाट नेपाली भाषामा सपथ लिए लगत्तै नेपाल भाषामा पनि सपथ लिनुभएको थियो ।

त्यसैगरी उपप्रमुख सुनिता डंगोलले पनि पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई महानगरपालिका प्रमुख शाहले सपथ ग्रहण गराउनुभएको हो । उपप्रमुख डंगोलले नेपाल भाषामा सपथ लिनुभएको थियो ।

त्यस्तै काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्षहरु, नगरसभाका सदस्य तथा वडा सदस्यहरुलाई पनि प्रमुख शाहले सपथ गराउनुभएको थियो । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जेठ २४ गते कार्यपालिकाको निर्वाचन हुने र सोमवार नै मतदाता नामावली प्रकाशन हुने जानकारी दिनुभएको थियो ।