
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ ।
माओवादीले स्थानीय तहका १ सय २१ प्रमुख र १ सय २८ उपप्रमुखसहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।
माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौं कुमारी हलमा राखेर प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले जानकारी दिनुभयो ।
आगामी बुधबार बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले उदघाटनसहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने बताइएको छ ।
सहभागीहरुलाई अध्यक्ष दाहालसहित नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ, मुक्ति प्रधान लगायतका नेताहरुले प्रशिक्षण दिने छन् ।
विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायतका व्यक्तित्वलाई बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्