१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तारा एयरको विमान दुर्घटना निधन भएका सबैको शव भेटियो

ब्ल्याक बक्स पनि भेटियो

832
Shares

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबै जनाको शव भेटिएको छ ।

दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज बिहान शव फेला पारेको हो ।

दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट शव काठमाडौं ल्याईरहेको हो ।

मौसम खराबीका कारण शव लिएर आएको सेनाको हेलिकप्टर तनहुँको आँबुखैरेनीमा रोकिएको छ ।

सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएको थियो । सोमबार काठमाडौं ल्याइएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बाँकी शवहरु पनि ल्याएर पोस्टमार्टम गरी आजै परिवारजनलाई बुझाइने छ ।

यसैबीच, दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पनि फेला परेको छ । दुर्घटनास्थलमा उद्धारका लागि गएको नेपाल पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मंगलबार बिहान बिमानको ब्ल्याक बक्स फेला पारेको हो ।

ब्ल्याक बक्समा विमान चालकले गरेका कुरा रेकर्ड रहने भएकाले त्यसबाट दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने गर्दछ ।