१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेटप्रति वीरगञ्जका उद्योगीद्वारा चिन्ता व्यक्त


143
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले सबै क्षेत्रलाई समेटेको भए पनि बजेटको कार्यान्वयनमा भने चुनौति रहेको उनीहरूको धारणा छ ।

नयाँ बजेट उद्योगी–व्यवसाय क्षेत्रका लागि राम्रो भएपनि कार्यान्वयन हुनेमा ढुक्क हुननसकेको उनीहरूको प्रतिक्रिया छ ।

उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले बजेटमा उद्योगीहरूलाई मासिक १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योगलाई सहुलियत दिएको बताउनुभयो ।

तर, १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योग नेपालमा न्यून रहेको उहाँको भनाइ छ ।

त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले नयाँ बजेट चुनावी बजेटका रूपमा आएको प्रतिक्रिया दिनुभयो ।

गौतमले सरकारले नयाँ बजेटमार्फत सबैलाई खुशी पार्न खोजे पनि सरकारसँग ढुकुटी नै नरहेको बताउनु भयो । बजेट कार्यान्वयन गर्न कठिन रहेको उहाँको भनाइ छ ।

गौतमले राज्यले १८ खर्ब ऋण बोकेको अवस्थामा पाँच खर्बभन्दा बढी घाटाको बजेट कार्यान्वनमा चुनौती देखिएको उहाँले बताउनुभयो ।