१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हत्या अनुसन्धान गर्न बारामा सर्वपक्षीय दबाव


3.12k
Shares

बारा । हत्या अनुसन्धानमा ढिलाइ गरेको भन्दै जितपुरसिमरा उपमहानगरपालिकावासीले अनुसन्धान छिटो गर्न प्रहरीलाई दबाव दिएका छन् ।

नगरको वडा नम्बर ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्याको घटनामा प्रहरीले ढिलो गरी अनुसन्धान थालेपछि स्थानीयले मंगलबारदेखि दबाव सुरु गरेको हो ।

निर्वाचित उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।

अनुसन्धान ढिलो गरिनुले प्रहरी दबाव र प्रभावमा परेको स्थानीयको आरोप छ । आक्रोशित स्थानीयले प्रहरी कार्यालय घेराउ, राजमार्गमा चक्काजाम गर्ने स्थिति बनेपछि राजनीतिक दलको सक्रियतामा सर्वपक्षीय समिति बनाइएको हो ।

सर्वपक्षिय बैठकका सहभागीले प्रहरीले अनुसन्धानमा तदारुकता नदेखिाएकोप्रति शंका व्यक्त गरेका छन् । प्रहरीले अनुसन्धान ढिलै थाले पनि सत्यतथ्य छिटो सार्वजनिक गर्न जनप्रतिनिधिहरूले माग गरेका छन् ।

दबाव बढ्न थालेपछि प्रहरीले पौडेलको हत्या आरोपमा ८ जनालाई पटक–पटक गरी पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा १६ वर्षीया किशोरी सहित चित्रबहादुर खतिवडा, सन्तोष खत्री, उद्धव अधिकारी, खगेन्द्र रिजाल रहेको इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक युवराज तिम्लिसिनाले जानकारी दिनुभयो ।

वैशाख ३० मा नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा ६ को वडा सदस्य पदको उम्मेदवारी दिएका चित्रबहादुरको घरमा पौडेलको हत्या भएको थियो ।

चित्रबहादुरको घरमा चुनावको अघिल्लो रात २९ गते जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।