
काठमाडौं, बैशाख ५ । कोरोना भाइरस रोकथामका लागि जारी लकडाउन लागु गर्ने क्रममा मुलुकको विभिन्न स्थानमा सुरक्षाकर्मीले नागरिकमाथि बल प्रयोग गरेकामा नागरिक समाजले आपत्ति जनाएको छ ।
मानवअधिकारका पक्षमा कार्यरत व्यक्ति र संस्थाहरुका तर्फबाट जवाफदेहीता निगरानी समितिले एक विज्ञप्ति निकाली देशका विभिन्न स्थानमा सुरक्षाकर्मीले नागरिकहरुमाथि गैरकानुनी शक्तिको प्रयोग, दुव्र्यवहार एवं कुटपिटका घटना भएकामा ध्यानाकर्षण भएको जनाएको हो ।
समिति संयोजक चरण प्रसाईले जारी गरेको विज्ञप्तिमा राज्यबाट संरक्षणको खाँचो भएका विपन्न तथा श्रमजिवी जनताले कष्टझेल्दै गन्तव्यमा पुग्न दिनहुँजसो दुःख र सास्ति व्यहोर्नु परेको उल्लेख गरेका छन् ।
विकल्पहीन भएर आफ्ना गाउँतर्फ लागेका सर्वसाधारण, काम सकाएर फर्किएका चिकित्सकसमेतलाई गरिएको दुव्र्यवहारमा संलग्नलाई कार्वाही गर्न पनि समितिले माग गरेको छ ।
यस्तो छ, समितिले जारी गरेको विज्ञप्तिः
प्रेस विज्ञप्ति
बैशाख ५, २०७७
‘कोभिड–१९’ को रोकथामका लागि जारी लकडाउन लागु गर्ने क्रममा मुलुकका विभिन्न भुभागमा सुरक्षाकर्मीद्वारा नागरिकहरुमाथि हुँदै आएका गैरकानुनी शक्तिको प्रयोग, दुब्र्यवहार एवं कुटपिटका घट्ना तथा राज्यवाट संरक्षणको खाँचो भएका विपन्न तथा श्रमजिवि जनताले कष्टझेल्देै गन्तब्यमा पुग्न दिनहुँजसो भोग्दैआएका दुख–सास्तिका घटनाहरुप्रति जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
हालसालै ड्युटी सकेर वासस्थान जाने क्रममा परिचयपत्र देखाउँदा देखाउँदै त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तेजप्रकाश साहा लगायत तीनजना चिकित्सकहरुमाथि प्रहरीद्वारा भएको अमानवीय ब्यवहार तथा लाठी प्रहार, धरानको एक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालमाथि प्रहरीबाट भएको कुटपिट एवं दुब्र्यवहारका साथै गौर, रौतहट र केही दिनअघि भक्तपुर, भैरहवा, दाङ, नेपालगंज तथा मुलुकका अन्य भुभागमा बारम्बार सुरक्षाकर्मीहरुबाट भएका दुब्र्यवहार एवं कुटपिटका घट्नाको निगरानी समिति घोर निन्दा गर्दछ । यस्ता गैरकानुनी कार्य प्रहरी प्रशासनले तत्काल बन्द गर्न र त्यस्ता कार्यका लागि जिम्मेवार प्रहरीहरुमाथि अनुसन्धान गरी कानुन बमोजिम कारवाही गर्न जोडदार माग गर्दछ ।
साथै यस विपद र लकडाउन लागु भएको अवस्थामा अरु कुनै उपाय नपाए÷नदेखेपछि अन्तिम विकल्प रुवरुप ज्यान जोगाउँन आतुर भएर थाकथलो पुग्न मालसमान बोकी, परिवार तथा वालबच्चासमेत लिएर लामो–कठीन पैदल यात्रामा लागेका नागरिकहरु कतिपय जिल्लाका सिमानामा प्रवेश निषेध गरिएका कारणबाट बाटोमै अलपत्र परेको तथा भोकभोकै रहेका घट्ना, समाचार तथा दृष्यहरुले हामीलाई स्तब्ध बनाएको छ । मानवीय मर्यादाको सम्मान गर्दै वाध्यात्मक अबस्थामा नागरिकको आवागमनलाई सुरक्षित बनाई आफ्नो घरपरिवार वा गन्तव्यसम्म सहज रुपमा पुग्न सक्ने वातावरणको सुनिश्चितताका लागि संबन्धीत स्थानीय, प्रान्तीय तथा संघीय सरकारले तत्काल आवश्यक प्रबन्ध मिलाउन निगरानी समिति हार्दिक अपिल गर्दछं ।
जवाफदेहीता निगरानीको तर्फबाट
चरण प्रसाई, संयोजक
संपर्क– ओमप्रकाश ठकुरी, 9841275732
जवाफदेहीता निगरानी समितिमा आवद्ध सदस्यहरुः
सह–संयोजक गोविन्द बन्दी सदस्यः मन्दिरा शर्मा, प्रा.कपिल श्रेष्ठ, डा.गौरीशंकरलाल दास, कनकमणि दिक्षित, डा.गोपाल सिवाकोटी, शोभाकर बुढाथोकी, सुमन अधिकारी, देवी सुनवार, विरेन्द्र थपलिया, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, राजु प्रसाद चापागाई, सवित्री श्रेष्ठ, जनक राउत, ईन्द्रप्रसाद अर्याल, माहामुश्वर आचार्य, बाबुराम गिरी, राजन कुईकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, पंकजलाल कर्ण, बद्रि भुसाल, रुकमनी महर्जन, रणधिर चौधरी ।
प्रतिक्रिया दिनुहोस्