२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको भुसालको दाबी


3.653k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ ।

बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उहाँले नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरु नभएको स्पष्ट पार्नुभयो ।

उहाँले मनमोहनको नेतृत्वको बाहेक एमालेका गठबन्धन बिनाका कुनै एकल सरकार नरहेको बताउनुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेट गन्तव्य समातेको बजेट भएको बताउनुभयो । उहाँले अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ केही साथीहरु भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा ? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दैछु एमालेको सरकार रे, कसरी दुई वटा पार्टीको सरकार एमालेको हुन्छ ? दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घाम जत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’

राष्ट्रिय सभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिकहरु खटाउने निर्णय र विद्युतको उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौति गर्छु भन्ने तर विद्युतीय साधनहरुमा महशुल बढाउने निर्णय बिरोधाभाष भएको उल्लेख गर्नुभयो ।

उहाँले गत सालको बजेट तत्कालीन सरकारले संसदबाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोप लगाउनुभयो ।