
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई पनि एमालेको जस्तै ठेगान लगाउनु नपरोस् भन्नुभएको छ ।
बुधबार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको र फेरि कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने चेतावनी दिनुभयो ।
अध्यक्ष दाहालले आफूहरुले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि स्थानीय तहको चुनावी नतिजाका आधारमा एमालेमा जस्तै अहंकारको संकेत देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठुलो बनाउँछ । कहिले कांग्रेसलाई ठुलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई । अब यो हाम्रो बाध्यता पनि छ । आवश्यकता पनि छ । हाम्रा कतिपय कमीहरु पनि होलान् । हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि । तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो ग¥यो । हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो । अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौँ । मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो । हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ । हाम्रो अर्को केही छैन । हामी गठबन्धन लाने । तर हामी चिन्तित छौँ यतिबेला । फेरी कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई । त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहान्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त गर्दै गर्दैन । हामी गठबन्धन कायमै राखेर जान चाहान्छौँ । यो दुविधामा कोही पनि नपर्नुहोला है । मेरो भनाईबाट अर्को अर्थ नलगाउनु होला ।’
अध्यक्ष दाहालले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताउनुभयो । निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका उहाँले जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले देशमा अझै कयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो ।
उहाँले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिनुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्