
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सभामा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको दोहोर्याउँदै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको जिकिर गर्नुभयो ।
मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गर्नुभयो । उहाँले प्रतिपक्ष दलहरुलाई बजेट अनुदान नदिनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
मन्त्री शर्माले प्रतिपक्षले इण्डक्शन चुलो बाँडेर भोट साट्न खोजेको आरोप लगाईएको भन्दै प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताउनुभयो । उहाँले इण्डक्शन चुलो निर्वाचनसँग केन्द्रित नभएको भन्दै चुलोमा राजनीति नगरेको स्पष्ट पार्नुभयो ।
मन्त्री शर्माले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसै अनुसारका संरचनामा बजेटले जोड दिएको बताउनुभयो । उहाँले इण्डक्शन चुलो बाँडेर भोट साट्ने कुरा सरकारको नरहेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले संरचनात्मक परिवर्तन प्रणालीका आधारमा सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारहरुलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्ने बताउनुभयो । उहाँले पुरानो संसदीय मान्यताका आधारमा बिरोधका लागि बिरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले देश ठूलो शंकटमा गइरहेको कुरा उठिरहेको भन्दै देशको आर्थिक शंकटलाई सरकारले हालै प्रश्तुत गरेको बजेट नै समाधानको अन्तिम विकल्प रहेको बताउनुभयो । उहाँले सरकारले देशभरबाट जनताले दिएका गुनासाहरुका आधारमा नै बजेट निर्माण गरेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जनताले प्रस्टरुपमा बुझिसेकेको बताउनुभयो । उहाँले जनताले बजेट कृषिमा जाने रहेछ भनेर कृषिमा लाग्नुपर्ने धारणा राखिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्