
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कार्यलाई अर्थमन्त्रीले बुझ्न नसकेको बताउनुभएको हो ।
स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकोले कम्पनीलाई दिनु नहुने बताउनुभयो । उहाँले बजेटमा स्वास्थ्य बीमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै अर्थमन्त्रीले यसलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।
सांसद पोखरेलले स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको बताउनुभयो । सरकारले ल्याएको स्वास्थ्य बीमा नाफा र नोक्सानको कोणबाट नआएको उहाँको भनाइ छ ।
सांसद पोखरेलले विश्वस्वास्थ्य संगठनसँग जोडिएर बनाएका संरचनासँग पनि स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा मेल नखाने बताउनुभयो । स्वास्थ्य मन्त्रालयसँग नै सबन्धित बीमालाई अर्थ मन्त्रालयतिर लैजान खोजिएको जस्तो देखिएको उहाँको भनाइ छ ।
आजै संसदमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पनि बीमा सम्बन्धि कार्यलाई बुझ्न नसकेको बताउनुभएको थियो ।
सांसद पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सको रूपमा अघि बढाउने कुरा सकारात्मक रहेको बताउनुभयो । उहाँले सबै विश्वविद्यालयहरूको पुनः संरचना गर्नुपर्ने र साझा सूचीमा परेका विश्वविद्यालयहरूलाई प्रदेश र संघले कुन–कुन हेर्ने भन्ने कुरा छुट्याउन आवश्यक रहेको पनि बताउनुभयो ।
सांसद पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सको रुपमा लगिरहँदा देशभर त्रिभूवन विश्वविद्यालयसँग सम्बन्धित कलेजहरूलाई प्रादेशिक त्रिभूवन विश्वविद्यालय बनाएर हल गर्नुपर्ने बताउनुभयो ।
सांसद पोखरेलले बजेटले सार्वजनिक शिक्षाको सबलीकरणको मुद्दालाई व्यवहारिक ढंगले अगुवाइ गर्न नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्