
काठमाडौं । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ ।
गए रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ मा बेचेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो । सबै सेवा शुल्क घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको प्राधिकरणको भनाई छ ।
यो सोझै प्राधिकरणको खातामा आउने रकम हो । ह्विलिङ चार्ज, मध्यस्थकर्ता कम्पनीको सेवाशुल्क कटाएर नेपालले करिब साढे १० रुपैयाँमा भारतमा बिजुली बेचेको प्राधिकरणले जनाएको छ ।
नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाबाट करिब १ महिना नेपालले भारतमा बिजुली बेचेको थियो ।
वर्षा याममा नेपालको बिजुली देशभित्र खपत हुने अवस्था नभए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । भारतले हालसम्म नेपालका २ वटा आयोजनाको मात्रै बिजुली किन्न स्वीकृति दिएको छ ।
तर नेपालले भने विभिन्न ८ वटा आयोजनाको बिजुली भारतमा बेच्न अनुमति मागिरहेको छ । भारतले यसअघि २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्न अनुमति दिएको थियो ।
नेपालले भने माथिल्लो तामाकोसी, कालीगण्डकी, मस्र्याङ्दी, मध्यमसर््याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि किन्न भारतलाई प्रस्ताव गर्दै आएको छ ।
गत फागुन दोस्रो साता काठमाडौंमा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्तको बैठकका क्रममा नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु आयोजनाको बिजुली किन्नका लागि भारत सहमत भएको थियो । तर अरु आयोजनाको बिजुली आईईएक्स खरिद–बिक्रीका लागि भने हालसम्म अनुमति दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्