
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाको उम्मेदवारी खारेज भएको छ ।
एन्फाको इन्टिग्रिटी कमिटीको निर्देशनमा निर्वाचन समितिले कर्मा छिरिङ शेर्पा समूहबाट सदस्यमा मनोनयन दर्ता गराएका शम्भुसिंह ठकुरी र स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका रमेश श्रेष्ठको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
एन्फाको निर्वाचन कमिटीले उम्मेदवारमाथिको दावी विरोधका लागि आजसम्मको समयसीमा दिएको थियो । निर्वाचन कमिटीका प्रवक्ता बद्री भट्टराईका अनुसार दुई जनाले मनोनयन दर्ता गर्ने क्रममा प्रक्रिया पूरा नगरेका कारण उम्मेदवारी रद्ध गरिएको हो । एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेकोमा यी दुईबाहेक बाँकीविरुद्ध दाबी विरोध उजुरी नपरेको उनले जानकारी दिए ।
यसअघि, निर्वाचन कमिटीले हिजो मतदाता नामावलीमा परेको उजुरीका आधारमा चारवटा मताधिकार प्रतिनिधि संस्थालाई बदर गर्ने निर्णय गरेको थियो । सिरहा जिल्ला, सरस्वती क्लब, फ्रेण्ड्स क्लब र महिला संघको मताधिकार बदर गर्ने निर्णय भएको थियो ।
उजुरीका आधारमा छानबिन गर्दा सिरहाका प्रविण यादव वर्तमान केन्द्रीय सदस्य रहेकाले मतदान गर्न नमिल्ने, फ्रेण्डसका महासचिव दीपक थापाले एन्फाको निर्वाचन प्रक्रिया सुरु भइसकेपछि क्लबबाट राजीनामा दिएको प्रमाण पेश भएको हुनाले मताधिकार प्रयोग गर्न नमिल्ने निर्देशिकाअनुसार मत बदर गरिएको कमिटीले जानकारी दिएको छ ।
सरस्वती क्लबका मताधिकारप्राप्त व्यक्ति एन्फाकै सामाजिक उत्तरदायित्व कमिटीको संयोजक रहेको र महिला संघबाट मताधिकारप्राप्त ब्यक्तिबारे माइन्युटमा फरक व्यवस्था भएका कारण बदर गर्ने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभयो ।
चार मताधिकारप्राप्त संस्थाले निर्वाचन कमिटीको निर्णयविरुद्ध पुनरावेदनमा जाने निर्णय गरेका छन् । आन्तरिक विवादका कारण भक्तपुर र सिन्धुली जिल्लाले मतदान नगर्ने यसअघि नै सार्वजनिक भइसकेको छ । चार मत बदर भएको अवस्थामा एन्फा निर्वाचनमा ८१ मत हुने छ ।
एन्फाले ४५ जिल्ला, १४ एडिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघ र राष्ट्रिय लिगका लागि छानिएका चार क्लबहरुले मताधिकार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्