
काठमाडौं । नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन चलाएको छ ।
बिहीबार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकेतिप्रेमीहरुलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेन शुरु गरेको हो ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले हाल भारत एवं बंगलादेशमा निकै गर्मी रहेको र गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास लिएको बताउनुभयो ।
त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकुल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिडका कारण बाहिर निस्किन नसकेका पर्यटकहरुले यसको लाभ लिने बताउनुभयो ।
परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवद्र्धन गरिने बताउनुभयो । उहाँले नेपाल पर्यटनको लागि उचित र राम्रो गन्तव्य रहेको बताउनु भयो । उहाँले अहिले देशका सबै ठाउँ खुलेको भन्दै पर्यटनमा सहज हुने बताउनुभयो ।
परिसंघले भारतमा अल इण्डिया एशोसिएशन अफ इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन च्याम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ ।
यस्तै, बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्