१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुगुमा यार्साको सिजन सुरु, विद्यालयहरु बन्द


208
Shares

काठमाडौं । मुगुमा यार्सा संकलनको सिजन सुरु भएसंगै डेढ दर्जन विद्यालयहरु बन्द भएका छन् ।

जिल्लाको कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएका हुन् ।

मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा लगाएतका पालिकाका विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएका छन् ।

केही स्कुलमा भने कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन् । भर्ना अभियान सकेर पढाइ सुरु हुनासाथ विद्यार्थी स्कुल छोडेर यार्सा संकलन गर्न पाटन हिँडेको स्कुलहरुले जनाएका छन् ।

१५ जेठदेखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किने र त्यसपछि पढाइ पुनः सुरु हुने बताइएको छ । हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थी पढाइ छोडेर यार्सा टिप्न पाटन जाने गरेको शिक्षकहरु बताउँछन् ।

विद्यार्थीहरुले यार्सा संकलनबाटै आफ्नो पढाइ खर्च जुटाउने गरेका छन् । यार्सा बेचेर कमाएको पैसाले उनीहरू कापी, कलम, जुत्ता, मोबाइललगायत सामग्री किन्ने गर्छन् । यार्सा संकलन गर्दा राम्रै आम्दानी हुने भएपछि यस क्षेत्रका स्कुल यो सिजनमा एक महिनासम्म सुनसान हुने गर्दछन् ।