१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्रोह गरेका कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आह्वान


182
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।

शुक्रबार केन्द्रीय समितिको १३औं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गर्नुभएको हो ।

गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उहाँले आग्रह गर्नुभयो । उहाँले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताउनुभयो । महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गर्नुभयो । उहाँले माओवादी जनतालाई मलमल र भुमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफुहरू एकताका लागि तयार रहेको बताउनुभयो । उहाँले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्ताहरुलाई पनि पार्टीमा फर्किन अपील गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।