
काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ ।
मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो ।
जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो ।
युएईको जितमा थिर्था सतिशले अविजित ४ तथा लाभन्या केनीले अविजित ३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै मात्र ८ रन जोडेको थियो ।
नेपालकी स्नेहा महराले ३, मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगरले १–१ रन बनाए । नेपालका ६ खेलाडीले खाता खोल्न पनि सकेनन् ।
युएईका महिका गौरले ५, इन्धुजा नन्दकुमारले ३ तथा सिमराले १ विकेट लिए ।
नेपालले तेस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्