
काठमाडौं । स्थानीय तह निर्वाचनको परिमाण आएसँगै मुलुकको राजनीति संघ र प्रदेश केन्द्रीत हुन थालेको छ ।
२०७४ साल मंसिर १० र २१ गते दुई चरणमा संघ र प्रदेशको चुनाव भएको थियो । निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागनुमा दिएपछि निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले फागुन २० गते सपथ लिएका थिए ।
निर्वाचन मंसिरमा भएको तर सपथ फागुन २० गते भएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्ने बारे राजनीतिक दलहरूबीच एकमत छैन ।
सत्तारुढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको मिति बारे छलफल सुरु भए पनि प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद छ ।
सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस मंसिरभित्र चुनाव गर्नुपर्ने पक्षमा छ भने स्थानीय तह निर्वाचनको परिणामबाट असन्तुष्ट नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फागुनमा गर्नुपर्ने पक्षमा छ ।
माओवादी केन्द्रले भने मितिबारे ठोस धारणा ल्याएको छैन । सत्तारुढ गठबन्धनभित्र चुनावको मितिबारे विवाद चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने अभिव्यक्ति दिनुभएको छ ।
स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरूबीच सम्बन्ध चिसो भएको र यस्तो अवस्थामा चुनावमा जाँदा नतिजा प्रतिकुल आउने भन्दै गठबन्धनका केही नेताहरूले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।
तर, कतिपय नेताहरूले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधिसभाको कार्यकाल गणना हुने तर्क गरिरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने पक्षमा छ ।
संसदको कार्यकाल बारे विवाद भइरहँदा निर्वाचन आयोगले भने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो मतपरिणाम आएर निर्वाचित सदस्यले मंसिर २२ गते प्रमाणपत्र बुझेकाले त्यसैलाई आधार मानेर पाँच वर्ष गणना हुने तर्क गरेको छ ।
मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्