१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघ र प्रदेशको निर्वाचनसम्म सत्ता गठबन्धन टिक्दैन : एमाले नेता विश्वकर्मा


208
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दाबी गर्नुभएको छ ।

नेता विश्वकर्माले सत्तारुढ गठबन्धनलाई टिकाइ राख्न पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेले आफूहरूलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएको पनि बताउनुभयो ।

१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको स्पष्ट पार्नुभयो ।

तर, गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न दाहाल र नेपालले हल्ला फिजाएको उहाँको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षा अनुसार नतिजा आउन नसकेको भन्दै नेता विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनमा भने पार्टीको सिंगो शक्तिलाई परिचालन गरेर अघि बढ्ने बताउनुभयो ।

नेता विश्वकर्माले पार्टी भित्र असन्तुष्ट नेता, कार्यकर्ताको मागलाई सम्बोधन गरेर आफूहरू संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो ।