११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाली कांग्रेस नुवाकोटले बनायो राहत कोष


0
Shares

नुवाकोट, बैशाख ७ । नेपाली कांग्रेस नुवाकोटले कोरोना भाइरसका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका लागि एक राहत कोष बनाइएको जनाएको छ ।

पार्टी सभापति जगदीश्वर नरसिंह केसीले एक विज्ञप्ति निकाली राहत संकलनका लागि कोष बनाइएको जानकारी दिएका छन् । महामारीले निम्त्याएको संकटको सामना सरकार एक्लै गर्न नसक्ने भन्दै केसीले तर सरकारले समन्वय र सहकार्यको शब्दसमेत सुन्न नचाहेको आरोप लगाएका छन् ।

आउँदा दिनमा संकट अझ गहिरिने लक्षण देखिएको भन्दै उनले महामारी र भोकमरी जस्ता संकटबाट नागरिकलाई बचाउनु नेपाली कांग्रेसको दायित्व भएकाले राहत कोष बनाइएको उनले उल्लेख गरेका छन् ।

कोषमा पार्टीका नेता कार्यकर्ताले आफ्नो हैसियत अनुसारको नगद वा तत्काल नबिग्रने गुणस्तरीय उपभोग्य सामग्री सिधै वा सम्बन्धित वडा, गाउँ, नगर समितिमार्फत जम्मा गर्न सकिने जनाइएको छ ।

कोषमा जम्मा हुने रकम वा राहत सामग्री जुन गाउँ वा नगरका बासिन्दाबाट प्राप्त भएको हो सोही गाउँ वा नगरमा वितरण गरिने पनि केसीले प्रष्ट्याएका छन् । पार्टीका सांसद र सांसद उम्मेदवारले उपलब्ध गराउने रकम सम्बन्धित निर्वाचन क्षेत्रभित्र र केन्द्रीय नेताका तर्फबाट प्राप्त हुने रकम भने जिल्लाभरी वितरण गरिने छ ।

संकलित राहत प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित पालिका वा वडासँग समन्वय गरी वितरण गरिने भन्दै नेपाल बैंक लिमिटेड विदुरको खाता नम्बर ००२६११००२८६११०००००१ मा राहत रकम जम्मा गर्न सकिने जानकारी दिइएको छ ।

यस्तो छ, सभापति केसीले निकालेको विज्ञप्ति
नेपाली कांग्रेस
जिल्ला कार्यसमिति, नुवाकोट
विषयः विज्ञप्ति !
१. विश्वभर आतङ्क सिर्जना गरेको कोरोना महामारी नेपालमा पनि तीव्र गतिमा फैलिएको र सङ्क्रमणको संख्या दिनानुदिन बढिरहेको छ । यसले आउँदा दिन अझ कष्टपूर्ण हुने निश्चित छ ।
२. सङ्कटको यो विषम परिस्थितिमा सिङ्गो पार्टी संरचना र नेतारकार्यकर्ता सबै महामारी नियन्त्रण र नागरिकहरूमा यसले पार्ने तत्कालीन र दीर्घकालीन प्रभावको न्यूनीकरणका लागि केन्द्रित हुनु हामी सबैको राजनीतिक र मानवीय धर्म हो । हामी सबै यसैमा केन्द्रित हुनु आवश्यक छ ।
३. महामारीको यो सङ्कटसँग जुध्न सरकारको एक्लो प्रयास पर्याप्त नहुने र सबै पक्षलाई समेटेर अघि बढ्नु पर्नेमा सरकार समन्वय र सहकार्यको शब्दसमेत सुन्न नचाहने अव्यवहारिक, असहिष्णु र अनुदार स्वरूपमा प्रस्तुत हुनुले सिङ्गो मुलुकलाई आश्चर्यचकित बनाएको छ भने महामारीको नाममा भएका भ्रष्टाचारका श्रृङ्खला, नेकपाका कार्यकर्तालाई पैसा बाँडेर भोकै, प्यासै रहेका निमुखा, गरिब र मजदुरका विरुद्ध परिचालन गर्नु, सुकुम्बासी समस्या समाधान समिति बनाउनुजस्ता बेमौसमी कार्यले आम नागरिक र बौद्धिक समुदाय सबैलाई निराश बनाएको छ । भोका जनतालाई एक पेट खान दिने राहतमा समेत भोटको जोडघटाउ गर्नु, भोको मान्छेसँग नागरिकता र फोटो माग्नु र आफ्नो भूमिमा छिर्न चाहने नागरिकलाई अनागरिक देखी निर्विवेकपूर्ण व्यवहार गर्नुले वर्तमान ओली सरकार फासिष्ट र भ्रष्टहरूको झुण्ड मात्र रहेको पुष्टि भएको छ । यो अवस्थामा सरकारबाट समन्वय र सहकार्यको आशा राख्नुको कुनै अर्थ छैन ।
४. सरकारको अकर्मण्य र विवेकहीन चरित्रले नेपाली कांग्रेसलाई सामाजिक उत्तरदायित्वप्रति अझ जिम्मेवार र संवेदनशील बनाएको छ । पार्टीले सरकारी कमान्डभित्रै समेटिएर महामारी विरुद्ध देशलाई योगदान गर्ने तथ्य पटकपटक दोहोर्याउँदै आएको छ र यो सिध्दान्तमा अहिले पनि दृढ छ । तथापि, यो सङ्कटमा भूमिकाहीन र अकर्मण्य रहन भने सक्दैन ।
५. आउँदा दिनमा सङ्कट अझ गहिरिने लक्षण देखिँदै छ । एकातिर महामारी र अर्का्तिर भोकमरी । यी दुबै संङ्कटबाट नागरिकलाई बचाउनु नेपाली कांग्रेसको दायित्व हो । यसै विषयलाई लिएर पार्टी जिल्ला कार्यसमितिका पदाधिकारीहरूको आइतबार बिहान भएको छलफलबाट नेपाली कांग्रेस जिल्लास्तरीय राहत कोष निर्माण गर्ने निर्णय भएको छ । पार्टीका सबै तहका समिति एवं भातृ तथा शुभेच्छुक संगठनहरूले कोषलाई सुदृढ पार्दै राहतको व्यवस्थापन गर्ने यो अभियानमा सक्रियतापूर्वक कार्य गर्नुहुन अनुरोध छ । जसका लागि,

क. पार्टीका सबै प्रकारका कार्यकर्ता वा सदस्यहरूले आफ्नो हैसियत अनुसारको नगद रकम वा तत्काल नबिग्रने गुणस्तरीय उपभोग्य सामग्री सिधै वा सम्बन्धित वडारगाउँरनगर समितिमार्फत कोषमा जम्मा गर्नुपर्ने छ ।
ख. पार्टी केन्द्रीय नेता, सांसद र सांसद उम्मेदवारहरूले यथोचित रकम कोषमा जम्मा गर्नुपर्ने छ ।
ग. कोषमा जम्मा हुने रकम वा राहत सामग्री जुन गाउँ वा नगरका बासिन्दाहरूबाट प्राप्त भएको हो सोही गाउँ वा नगरका लागि वितरण गरिने छ ।  पार्टीका सांसद र सांसद उम्मेदवारले उपलब्ध  गराउने रकम सम्बन्धित निर्वाचन क्षेत्रभित्र र केन्द्रीय नेताहरूको तर्फबाट प्राप्त हुने रकम जिल्लाभित्र वितरण गरिने छ ।
घ. कोषमा प्राप्त रकम र जिन्सी बाट राहत वितरण गर्दा ‘वान डोर सिस्टम’ अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित पालिका वा वडासँग समन्वय गरी खाद्यान्न राहतमा प्रयोग गर्ने व्यवस्था गरिनेछ ।
६. यसको समग्र संयोजनका लागि पार्टीका पदाधिकारी, क्षेत्रीय सभापतिहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल ट्रेड युनियन कांग्रेस, नागरिक समाज र उद्योग वाणिज्य संघका प्रतिनिधि नेका सम्पर्क समिति को प्रतिनिधि ,रहेको जिल्ला समन्वय समिति रहने छ । पार्टीका सबै नेता, कार्यकर्ता तथा देशविदेशमा रहने सबै शुभेच्छुकहरू, उद्योगी,ब्यापारी र इच्छुक सर्वसाधारण नागरिकहरूमा कोषमा आफ्नो हैसियत अनुसारको सहयोग कोषमा दाखिला गर्न नेपाली कांग्रेस नुवाकोट हार्दिक आह्वान गर्दछ ।
७. कोषमा जम्मा गर्ने रकम नेपाल बैंक लिमिटेड विदुरको खाता नम्बर ००२६११००२८६११०००००१ मा जम्मा गर्नुपर्नेछ । ब्यक्तिलाई दिएको रकमको पार्टी जिम्मेवार हुने छैन ।
जय नेपाल !
जगदीश्वर नरसिंह केसी
      सभापति
नेपालि कांग्रेस नुवाकोट