
काठमाडौं । संसारकै उच्च धुरी सगरमाथा भएर मात्र हैन, थोरै भूगोल अन्तरमा पाइने फरक हावापानी, अनेकानेक धार्मिक संस्कृति परिवेश पर्यटक तान्ने प्रमुख हतियार हुन् । विश्व नै कोभिड संक्रमणले आतंकित हुँदा नेपालको पर्यटन क्षेत्रले अपूरणीय धक्का महसूस ग¥यो । वर्षेनी ८ लाखको हाराहारीमा नेपालमा पर्यटक भित्रिने तथ्यांक एकाएक एकादेशको कथा सावित भयो । कोभिड संक्रमणको पारो घटेसँगै यस वर्ष नेपालको पर्यटन क्षेत्रमा हरियो बत्तीको संकेत देखिएको छ ।
केही महिनाअघि पर्यटकहरुको प्रमुख आश्रयस्थल मानिने ठमेलमा विदेशी पाहुनाको चालचुल थिएन । यहाँका व्यवसायीहरु सटर खोल्नु र बन्द गर्नुको दबाबमा थिए । त्यसबेला हजारौं व्यवसायी पेशाबाटै विस्थापित भएको समाचार सम्प्रेषित गरेका थियौं । तर त्यही ठाउँको माहोल अहिले फेरिएको पाइयो । पर्यटक बाक्लिएका छन् । समय प्रतिकूल हुँदा भ्रमण रद्द गरेका पर्यटकहरुको आगमन साइत जुर्न थालेको छ । यो सुसमाचारले व्यवसायीहरुमा उत्साह थपिएको छ । दुई वर्षदेखि गुम्सीएका पर्यटहरु अहिले नेपालमा आउनु थालेको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल बताउनुहुन्छ ।
होटल व्यवसायीकाअनुसार यतिबेला भारतीय र बंगलादेशी पर्यटकको संख्या बाक्लो छ । नेपाल भ्रमणका लागि २ दिनको समय लिएर आएको भारतीय पर्यटकले भने नेपालमा प्रशस्तै घुम्न ठाउँ भएकाले २ दिन काफी नभएकाले समय थप गरी नेपाल बस्ने भारतीय पर्यटक बताउँछन् ।
नेपाल घुम्न आउने जो कोही पर्यटकहरु अक्सर गरी ठमेलमा नै बास बस्न रुचाउँछन् । अधिकांश देशबाट आउने पर्यटकहरुको जक्सन हुने भएकाले नेपाल प्रवेश गरेपछि ठमेलमा बस्न सुरक्षित महसुस गर्छन् । नेपाल भ्रमणमा आएका चेक रिपब्लिकका पर्यटक नेपालको बारेमा धेरै पहिले नै बखान सुनेको तर भ्रमणको साइत बल्ल जुरेको बताउँछन् ।
पर्यटक लोभ्याउन सारंगी र बाँसुरीको नेपाली मौलिक धून बजाउनेहरु उतिक्कै उत्साही छन् ।
अघिल्ला दुई वर्षको तुलनामा नेपाल भ्रमण गर्ने विदेशी पाहुनाको संख्या उत्साहजनक वृद्धि भएपनि फोहोर व्यवस्थापन हुन नसकेको दृश्यले भने झस्काएको छ । यद्यपि यहाँको रहनसहन र खानपान अविस्मरणीय रहेको नेदरल्याण्ड्का एक पर्यटक बताउछन् ।
यहाँ आउने अधिकांश पर्यटकहरुको चाहना भनेको हिमाल आरोहण गर्ने नभए हिमालको अवलोन हुने गरेको छ । पदयात्रा रुचाउने पनि उत्तिक्कै छन् । बर्षा सकिएलगत्तै पर्यटकको सिजन सुरु हुन्छ । त्यसैले आकर्षक प्याकेज बनाएर तिनीहरुलाई नेपाल तान्नेतर्फ सरकारी र निजीक्षेत्रको संयुक्त प्रयास आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्