
काठमाडौं । धार्मिक र पर्यावरणीय पक्ष समेटिएको सिथि नखः पर्व आइतबार मनाइएको छ । यो दिनलाई सरकारले राष्ट्रिय पानी दिवसको रुपमा पनि मनाउँदै आएको छ । आजैं विश्व वातावरण दिवसको साइत पनि जुरेको छ । यो पर्वले विकास प्रकृतिमैत्री हुनु आवश्यक रहेको सम्झाउँछ ।
सिथि नखः पर्व नेपाल मण्डलको एक प्राचिन मौलिक पर्व । धार्मिकरुपमा देव सेनापति कुमार कार्तिकेयलाई वःसहितको विभिन्न परिकार राखेर पूजा गरेर मनाइन्छ । सिथि नखः धार्मिक रुपमा मात्र सिमित छैन । यो पर्यावरणीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेको छ । यस दिन पोखरी, इनार, हिति लगायत भूमिगत पानीका स्रोतहरु सरसफाई गरिन्छ ।
मनसुनको स्वागत गर्दे पानीको महत्वलाई दर्शाउँदै स्रोतहरुको संरक्षण र आपूर्ति व्यवस्थालाई सहज बनाइन्छ । तसर्थ सिथि नखःलाई राष्ट्रिय पानी दिवसको रुपमा पनि मनाउन थालिएको हो । तर विडम्बना अनियन्त्रित र अव्यवस्थित शहरी विकासले भूमिगत पानीका स्रोत र मुलहरु सुकेका छन् । पोखरी, इनार, हितिमा पानी बग्न छोडेको छ । उपत्यकावासीलाई मेलम्ची राजनैतिक दाउपेज मात्र बनेको छ । यही कुरा बुझेर पोखरी, इनार र हिति संरक्षणमा अभियन्ताहरु जुटिरहेका छन् ।
भूमिगत पानी संरक्षणविद् सुशील श्रेष्ठ ललितपुरको आफनो टोलमा रहेको आल्को हितिको पानी जम्मा गरेर २ सय ५० घरमा बर्सौदेखि पानी आपूर्ति गर्दे आउनु भएको छ । यसरी नै परम्परागत हितिहरुबाट अन्य ठाउँमा पनि पानी आपूर्ति गर्न सक्ने दाबी उहाँको छ ।
मेलम्चीको आशा मात्र गर्ने मात्र होइन, पूर्खाको धरोहरलाई पनि विकल्पको रुपमा लिएर राजकुलो र पोखरी व्यँुत्याउनु पर्नेमा श्रेष्ठ बताउनुहुन्छ । भूमिगत पानीलाई शक्तिको रुपमा परिभाषित गर्नुपर्ने भन्दै उहाँले ललितपुरमा अन्य ठाउँमा भन्दा हितिको राम्रो संरक्षण भएको बताउनुुहुन्छ ।
तसर्थ सिथि नखः जस्तो मौलिक परम्परालाई कर्मकाण्डमा सिमित नराखेर पर्यावरण र पानी संरक्षणको जनचेतना फैलाउनु आवश्यक छ । भविष्यका सन्ततिका लागि पनि पृथ्वी बस्न लायक बनाउन वातावरण संरक्षण अहिलेको पुस्ताको दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्