
काठमाडौं, वैशाख ७ । प्रधामन्त्री केपी ओलीले सर्वदलीय संयन्त्रको प्रस्ताव गर्नेहरुको मानसिकता कुण्ठाग्रस्त रहेको आरोप लगाएका छन् ।
आफ्नै पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि कोरोना भाइरसको अहिलेको संकटसँग जुध्न सरकार एक्लैले नसक्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको संलग्नतामा सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए ।
दाहालबाहेक समाजवादी पार्टी, राजपा, राप्रपा, साझा पार्टीलगायतले सर्वदलीय संयन्त्र बनाउन माग गर्नेहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रको कुरा गर्नु कुण्ठाग्रस्त मानसिकताको उपज भएको बताएका हुन् ।
राष्ट्रिय समाचार समिति (रासस) सहितका सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले संसारका कुनै पनि देशमा कोरोना महामारीसँग लड्न त्यस्तो संयन्त्र नबनेको दलील पेश गरे ।
कोरोना भाइरसको सामनाका लागि उच्चस्तरीय संयन्त्र गठनको कुरा पनि आएको छ तर तपाईँले किन त्यसलाई अस्वीकार गर्नुभएको भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यो प्रश्न म तिनैलाई सोध्न चाहन्छु कि आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ ? विश्वका कतिपय देशमा संयुक्त सरकार छन्, कुनै अल्पमतका सरकार छन् । त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्को संयन्त्र छ ? कुन प्रजातान्त्रिक वा व्यवस्थाको मुलुकको छ ?’
मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकताबाहेक केही होइन भन्दै उनले थपे, ‘जबकि नेपालको वर्तमान सरकार दुई तिहाई नजिकको बहुमत र जनादेशप्राप्त सरकार हो । सरकारले कोरोनाविरुद्ध चालेका कदममा सबै राजनीतिक दल, क्षेत्र र आम जनताको समर्थन र सहकार्य छ । सबैबाट आएका उपयुक्त सुझावलाई ग्रहण गर्न सरकार तयार छ । सरकारले उचित समन्वय गरिरहेको छ। सरकारले संविधान र कानूनअनुसार उत्तरदायित्व पूर्णरूपमा काम गर्छ । त्यसैका लागि जनतासँग शपथ लिएको सरकार हो यो । अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् । नागरिक समाज पनि राख्नुपर्ने भनिएको छ ? अनि कुन नागरिक राख्ने वा छुटाउने ? त्यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्छ । अन्यथा मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’
यसअघि नेकपा अध्यक्ष दाहालले ईमेज च्यानलसँगको अन्तर्वार्तामा कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सरकार एक्लै नसक्ने भन्दै सबैलाई सामेल गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउनुपर्ने बताएका थिए ।
दाहालले आफूले यही प्रस्ताव प्रधानमन्त्रीसमक्ष पनि राखेको बताएका थिए । तर प्रधानमन्त्री ओली भने यस्तो प्रस्ताव सुन्न पनि तयार छैनन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले यस्तो संयन्त्रको त माग गरेको छैन तर राहत वितरणमा सरकारले एकलौटी गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मै साझा संयन्त्र बनाउन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्