१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समाजवादीबाट नयाँ मन्त्री बन्नेलाई आज शपथ गराइने


338
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बाट मन्त्रीका लागि सिफारिस भएकाको आज (सोमबार) शपथ ग्रहण हुने भएको छ ।

समाजवादीबाट मन्त्रीमा सिफारिस भएका एक नेताका अनुसार सोमबार अपराह्न शपथ ग्रहणका लागि तयारी अवस्थामा बस्न भनिएको हाे। एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम आइतबारनै सिफारिस गरिसकेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरू विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने गरी सिफारिस भएको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ ।

यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको छ । एकीकृत समाजवादीले प्रेम आले, किसन श्रेष्ठ, रामकुमारी झाँक्री र विरोध खतिवडालाई मन्त्रीबाट हटाएको हो । पार्टीका सबै आकांक्षीहरुलाई भाग पुर्याउन मन्त्री परिवर्तन गरिएको बुझिएको हाे ।

८ महिना पनि राम्रोसँग काम गर्न नपाउँदै मन्त्रीबाट हटाईएकाहरू भने पार्टीको शैलीप्रति असन्तुष्टि जनाएका छन् ।