
काठमाडौं, बैशाख ७ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको विषय सार्वजनिक भएकाले ती काण्डमा संलग्न दोषीहरुलाई छानबीन गरी कार्वाही गर्न माग गरेका छन् ।
इमेज च्यानलसँग कुराकानी गर्दै अध्यक्ष रेग्मीले यस्ता क्रियाकलापले सरकारप्रति नकारात्मक धारणा विकास भएको उनको भनाइ थियो ।
लकडाउन लामो समय जाँदा मुलुकमा आर्थिक सामाजिक समस्या थपिने भन्दै रेग्मीले सबै पक्षलाई समेटेर लैजान आग्रह गरे । केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्न उनले सुझाए ।
अहिले सरकारले अनेकन नियुक्तितिर ध्यान दिनेभन्दा पनि कोरोना भाइरस रोक्नेतर्फ नै केन्द्रित गर्नुपर्ने उनले बताए ।
अदालतले दिएका आदेशहरु सरकारले पालना गर्नैपर्ने भन्दै पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले बीच बाटोमा अलपत्र परेका सर्वसाधारणलाई उद्धार गर्नुपर्ने बताए ।
उनले सरकारले लगाएको लकडाउन पालना गर्न सबै नेपालीलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्