२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टीमा छलफलपछि भुसालमाथिकाे कारबाहीबारे निर्णय लिन्छौं : ईश्वर पोखरेल


1.183k
Shares

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताउनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताउनुभयो । उहाँले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि चिज कमिटीमा छलफल हुन्छ । यदी कुनै विषय हो भने कमिटीमा आउँछ । छलफल हुन्छ । कमिटीले निर्णय गर्छ ।’

त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समिक्षा गरेर एकतावद्ध हुनुपर्ने बताउनुभयो ।

पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उहाँको भनाई छ । कोहीपनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टी पंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने बताउनुभयो ।