१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माणपछि यात्रा सहज


247
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’ मा पूर्वाधार निर्माण भएपछि यात्रा सहज भएकाे छ ।

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’ मा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकहरूलाई यात्रा सहज भएको हो ।

नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरि पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

पर्यटन मन्त्रालयबाट विनियोजन भएको करिब २ करोड ८० लाख रुपैयाँको बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ ।

आधार शिविर पुग्ने छोटो र सुरक्षित पदमार्ग भएकाले यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो ।

पदमार्ग अन्तर्गत ६ स्थानका खोलामा झोलुङ्गे पुल र ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ ।

अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको र दुई महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।