२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विनोद शाहीको मृत्युबारे सत्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन


156
Shares

काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिनुभएको हो ।

सांसद बोगटीले ९ दिन पहिले १५ वर्षीय शाहीको हत्या भएको तर प्रशासनले जाहेरी दर्ता नलिएको भन्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गर्नुभएको थियो । त्यसपछि सभामुख सापकोटाले भन्नुभयो, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

गृहमन्त्रीले न्यायिक रूपमा छानबिन हुने र हत्यारालाई कारबाही गर्ने बताए पनि आजसम्म जाहेरी दर्ता नगरिएको बरु शव कुहिएको सांसद बोगटीले बताउनुभयो ।

घटनालाई राजनीतिक रङ दिन खोजिएको उहाँको आशंका छ । त्यसपछि सभामुख सापकोटाले सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको हो ।