१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धन मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल


299
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताउनुभएको छ ।

अध्यक्ष नेपालले आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताउनुभयो ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्ता गठबन्धनलाई भत्काउने प्रयत्न भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो ।

गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो । गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरूले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराउनुभयो । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूले सकेसम्म राम्रो काम गरेकाले उनीहरूलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाई थियो ।

सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरूलाई आगामी दिनमा सम्मान गर्ने पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।