
काठमाडौं, बैशाख ८ । नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले किन अध्यादेश ल्याउनु पर्यो भनेर सदस्यहरुलाई जानकारी गराएका छन् ।
सरकारले आवश्यक ठानेरै अध्यादेश ल्याएको र अध्यादेश ल्याउनसक्ने सरकारको अधिकार क्षेत्र भएको उनले बैठकमा बताएका थिए ।
बैठक चलिरहेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेको खबर आएपछि बैठकले कुनै निर्णय नगरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइए पनि सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश नै जारी भइसकेकाले छलफलको औचित्य नदेखिएको हो ।
यद्यपि अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश ल्याउने उचित समय नभएको, विधि र प्रक्रिया अनुसार पनि नभएको बताएका थिए । अर्का सदस्य झनाथ खनाल, नारायणकाजी श्रेष्ठले पनि दाहालको भनाइमा समर्थन जनाएका थिए ।
रामबहादुर थापा, इश्वर पोखरेल र विष्णु पौडेलले भने अध्यादेश ल्याउनु सरकारको क्षेत्राधिकार भएकाले सामान्य प्रक्रिया रहेको भन्दै प्रधानमन्त्रीलाई समर्थन गरेको स्रोतका दावी छ ।
सचिवालय बैठकमा संवैधानिक परिषद्को नियुक्तिहरु अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले यसलाई ठूलो रुपमा लिनु हुँदैन भन्दै प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याएको थियो ।
अध्यादेश ल्याउने सरकारको निर्णयले नेकपामा ठूलै हलचल ल्याएको थियो भने यस्तो समयमा अध्यादेश ल्याउन नहुने पक्षमा रहेका मन्त्रीहरुलाई प्रधानमन्त्रीले दल विभाजनसम्बन्धि अध्यादेशले आफ्नो पार्टीलाई कुनै असर नगर्ने आश्वासन दिएको बताइएको छ ।
श्रेष्ठले अध्यादेशबारे अन्य कोणबाट पनि गम्भीर छलफल भएको बताए पनि अरु ब्याख्या गर्न चाहेनन् ।
बैठकपछि प्रवत्ता श्रेष्ठले जारी गरेको विज्ञप्ति यस्तो छः
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्याे । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड”काे संयुक्त अध्यक्षतामा बसेकाे बैठकमा अाज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूकाे बारेमा छलफल भयाे ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुकाे आैचित्यबारे बैठकलाई जानकारी गराउनुभयाे । तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा अाअाफ्नाे धारणा राख्नुभयाे ।
छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएकाे सूचना प्राप्त भयाे ।
बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा काेराेना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने अावश्यकतामा विशेष जाेड दिएकाे छ ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
८ बैशाख २०७७
प्रतिक्रिया दिनुहोस्