
काठमाडौं । नेपालको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको हो ।
मागभन्दा बढी उत्पादन भएको तथा खपत हुन नसकेर खेर जाने बिजुली बिक्री हुने क्रम बढेको हो । यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्रले सघाउ पुर्याउने देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज (बिहीबार)मात्रै मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि निर्यात गर्दैछ । आज कूल २८४ मेगावाट बराबर बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आज छ हजार ८३१ मेगावाट घण्टा विद्युतीय ऊर्जा निर्यात गर्ने भएको हो । भारतमा यतिबेला ऊर्जाको माग बढी रहेको छ । भारतमा बिजुलीको मूल्य हरेक १५ मिनेटमा फेरबदल भैरहन्छ ।
यतिखेर प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य युनिटको १९ रुपैयाँ बराबर पाइने बताइएको छ । प्राधिकरणले यस पटकको मनसुनमा मात्र २५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ ।
मुलुकको प्रणालीमा कूल जडित क्षमता २३ सय मेगावाट बराबर पुग्दा माग भने १६ सय मेगावाट बराबर मात्र रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्