
दीपक चालिसे
फ्रान्स । फ्रान्सको पेरिसस्थित अति ब्यस्त शहर लुइजब्लमा रहेको रोयल पोखरा रेष्टुरेण्ट फ्रान्समा रहेका नेपालीहरुबीच मात्र नभई विदेशीकामाझ पनि निकै प्रसिद्ध छ ।

सो रेष्टुरेण्टमा नेपाली खानाको स्वाद लिन नेपाली त पुग्ने नै भए,त्यस बाहेक फ्रान्सेली, भारतीय, स्विजरल्याड र बेल्जियमका नागरिक समेत नेपाली खानाको स्वाद लिन पुग्ने गरेका छन् ।

पर्वतको मल्लाज घर भई विगत १४ वर्षदेखि फ्रान्समा बस्दै आउनु भएका शिव शर्मा रेग्मीले उक्त रेष्टुरेण्ट खोल्नु भएको हो ।

सुरुमा कुनै कम्पनीमा कामदारका रुपमा फ्रान्स पुग्नु भएका रेग्मीले पछि भारतीय खानाको परिकार बनाउने सेफ(कुक) को काम सिकेर पाँच वर्ष अघि भारतीय खानाको रेष्टुरेण्ट खोल्नु भएको थियो । तर १ वर्ष पहिलेबाट भने उहाँले नेपाली खाना समेत पाउनेगरी रेष्टुरेष्ट खोलेर रेष्टुरेण्ट मालिक बन्नु भएको छ ।

रेष्टुरेण्टका भित्ताहरुमा नेपालका कला संसकृति झल्किने तस्बीरहरु राखिएको छ । जसले नेपालीहरुलाई आफू विदेशमा भएपनि स्वदेशमै रहेको अनुभव हुने गरेको छ ।

रेग्मीको रेष्टुरेण्टमा परम्परागत नेपाली खाना,थकाली खाना,नेवारी खाना,मम,कोदो र मकैको ढिडो लगायत गरी २५ थरीका परिकारहरु पाक्ने गरेका छन् । नेपाली मदिरा समेत त्यहाँ बिक्रि हुने गरेको छ ।

उहाँको रेष्टुरेण्टमा कर्मचारी पनि नेपाली नै रहेका छन् । रेष्टुरेण्टमा थुप्रै नेपाली खानाका पारखीहरु पुग्ने गरेका छन् । रेष्टुरेण्टमा दैनिक २५ सय युरो (३ लाख ३२ हजार रुपैंयाँ) बराबरको व्यापार हुने गरेको रेग्मीको भनाई छ । विदेशीहरु समेत रेष्टुरेण्टमा पुग्दा नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्न सक्ने फ्रान्समा रहेका नेपालीहरु बताउँछन् ।

प्राय:जसो खानाका सामग्री नेपालबाटै लाने गरिएको छ । रेष्टुरेण्टमा नेपाली खानाको परिकार बनाउने काम पर्वतकै माया शर्माले गर्दै आउनु भएको छ । उहाँ त्यहाँ सेफ(कुक) को रुपमा कार्यरत हुनुहुन्छ ।

शर्माले नेपाली मात्र नभई भारतीय परिकार समेत बनाउने गर्नुहुन्छ । उहाँ फ्रान्समा पहिलो नेपाली महिला सेफका रुपमा कार्यरत हुनुहन्छ । शर्माले बनाएको खानाको स्वादको तारिफ नेपाली मात्र नभई त्यहाँ पुग्ने विदेशीले समेत गर्ने गरेका छन् ।

बिहान बेलुका बाहेक साँझमा रेष्टुरेण्ट पुग्नेहरु नेपाली लोक गीत संगीतका साथै आधुनिक गीतहरुमा रमाएर आनन्द लिने गर्छन । रेष्टुरेण्टमा बेलुका सांगितिक माहोलका साथ नेपाली गीत संगित सुन्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्