१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


संकीर्ण स्वार्थ र व्यक्तिवादबाट माथि उठौंः माधव नेपाल


0
Shares

काठमाडौं, बैशाख ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संकीर्ण स्वार्थ र व्यक्तिवादबाट माथि उठ्न आग्रह गर्दै पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसका सन्दर्भमा विज्ञप्ति जारी गर्दै उनले पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आआफ्नो ठाउँबाट योगदान गर्न पनि आह्वान गरेका छन् ।

सरकारले सोमबार ल्याएको अध्यादेशबारे उल्लेख नगरेपनि उनले, विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका छन् ।

वक्तव्यमा नेपालले भनेका छन्, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।’

उनले पार्टी र सरकार कोरोना महामारीमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन् । कोरोनाले नेपाललाई पनि आक्रान्त पारिरहेको भन्दै उनले ‘यस विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनु हुँदैन’ भनेका छन् ।

सोमबार प्रधानमन्त्री केपी ओलीको जोडबलमा पार्टीलाई समेत थाहा नदिई दल विभाजन गर्ने र संवैधानिक परिषदमा विपक्षी दलको उपस्थिति अनिवार्य नगर्ने दुई अध्यादेश सरकारले ल्याएको सन्दर्भमा नेपालको यो विज्ञप्ति आएको देखिन्छ ।

सोमबार नै बसेको नेकपाको सचिवालय बैठकमा नेता नेपालसहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कदमको आलोचना गरेका थिए ।