
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बञ्चरे डाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भइ त्यसको विकल्प खोज्नुपर्ने बताउनुभएको हो ।
उहाँले सधैँ बञ्चरे डाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनको लागि पर्याप्त भइ नरहने भन्दै त्यसको विकल्पको रुपमा आधुनिक प्रविधियुक्त मेसिनको आवश्यक रहेको बताउनुभयो ।
प्रवक्ता महतले बञ्चरे डाँडाका बासिन्दालाई दुर्गन्धबाट टाढा राख्न र रोगव्याधीको समस्या, दुर्घटनाबाट टाढा राखि रोजगारी व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै दुर्गन्धबाट टाढा बस्न पाउनुपर्ने माग बञ्चरे डाँडावासीको जायज माग भएको बताउनुभयो ।
प्रवक्ता महतले अहिलेको काठमाडौंको बेहाललाई ध्यानमा राखेर स्थानीयवासीसँग सहजता प्रदान गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले स्थानीयको माग, फोहोरको दुर्गन्ध न्यून गर्ने तात्कालीक उपायहरु, तत्काल लागू गर्नपर्ने भन्दै वातावरणीय प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्