१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा छैन् : अध्यक्ष ओली


884
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताउनुभएको छ ।

उहाँले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि दाबी गर्नुभयो । नेकपा एमाले मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले, एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको बताउनुभयो ।

उहाँले पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको टिप्पणी गर्नुभयो । गठबन्धन नहुँदा सबै पार्टी धूलोपीठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको उहाँले बताउनुभयो ।

वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउँछु भन्ने अर्थमन्त्रीको बजेट भाषण हावादारी गफमात्र भएको उहाँको टिप्पणी थियो । आफूले गरेको संसद विघटनको बचाउ गर्दै ओलीले संसद विघटन प्रतिगमन नभएको दाबी गर्नुभयो ।

उहाँले कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चाहि प्रतिगमन भएको उहाँले बताउनुभयो ।