
काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यले सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको ठहर गर्दै प्रतिरोध आन्दोलनका लागि आह्वान गरेका छन् ।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग आन्दोलनबारे ठोस निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउनसँग माग पनि गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले बुधबार संयुक्त विज्ञप्ति निकालेर तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन् ।
सरकारले ल्याएको दुई अध्यादेशलाई औचित्यहीन भन्दै उनीहरुले यसबाट सरकारको बदनियत देखिएको पनि उल्लेख गरेका छन् । सभापतिले पार्टी पदाधिकारीको बैठक राखेकै दिनमा उनीहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् ।
लकडाउन नै भए पनि प्रविधिको प्रयोग गरी बैठक बस्न आग्रह गर्दै उनीहरुले भनेका छन्, ‘यस घडीमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाई सरकारको यो रवैयाका विरुद्धको प्रतिरोध आन्दोलनलाई सशक्त र परिणाममुखी बनाउन पार्टीभित्र वृहत छलफल आवश्यक भएकाले अबिलम्ब नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाउन हामी सभापतिज्यू समक्ष जोडदार माग गर्दछौं ।’
हतार हतारमा अध्यादेश प्रमाणीकरण गरेर राष्ट्रपति दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनेको आरोप लगाउँदै उनीहरुले भनेका छन्, ‘सरकारको यो कदममा सम्माननीय राष्ट्रपतिज्यूको अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि छ । यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको छ । जुन विडम्बनाको विषय हो । राष्ट्रपति व्यक्ति होइन संस्था हो, यस गौरवपूर्ण संस्थाको गरीमा राख्नको लागि हामी पुनः सचेत गराउन चाहन्छौं ।’
सरकारले बैशाख ८ गते राति राजनीतिक दल फुटाउने र विपक्षी बिनै संवैधानिक परिषद बैठक राख्नेसम्बन्धि दुई वटा अध्यादेश ल्याएको छ । सबैलाई एक बनाई महामारीसँग जुध्नुपर्ने समयमा ल्याइएका ती अध्यादेश कुनै कोणबाट पनि औचित्यपूर्ण नरहेको उनीहरुले भनेका छन् ।
यसबाट सरकार सत्ता राजनीतिको छुद्र खेलमा कतिसम्म लिप्त छ भन्ने कुरा स्पष्ट भएको भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘यो समयमा सरकारको योभन्दा ठूलो गैरजिम्मेवारीपन अरु हुन सक्दैन । यो बदनियतपूर्ण निर्णयसँगै सरकार चलाउनका लागि वैधानिक हैसियत रहे पनि शासन सञ्चालनको वैधता भने अब सरकारले गुमाइसकेको छ ।’
संविधानको आधारभूत स्तम्भ भत्काउँदै अध्यादेश ल्याएको भन्दै उनीहरुले नेपाली जनताको लामो संघर्षबाट जारी भएको संविधान, संविधानले स्थापित गरेको व्यवस्था र लोकतान्त्रिक राजनीतिक प्रणालीलाई मास्ने षडयन्त्रका रुपमा अध्यादेश आएको जनाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यहरुले ती अध्यादेश फिर्ता लिन वा प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार हुन सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्