
काठमाडौं । सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएकाे छ ।
आइतबार राति हुलाकी राजमार्ग अन्तर्गत बाराको महागढीमाई नगरपालिका थलही पुलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका सनफुल्वोका ३५ वर्षीय बिरुलाल यादव र भारतको मोतिहारी जिल्लाको ३० वर्षीय मेवा चन्द्र राय यादव रहेका छन् । बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल सवार दुवै जना पुल भन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा राति नै मृत्यु भएको हो ।
यता, काठमाडौं कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राई रहेकी छन् । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको मिनी ट्रकले जडीबुटीतिरै गइरहेको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी थिइन् । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्