
काठमाडौं । काठमाडौं उपत्यकाबासीले नवनिर्वाचित महानगरका जनप्रतिनिधिसँग कस्तो गुनासो राख्लान ? महानगरमा नयाँ जनप्रतिनिधि भित्रिनासाथ पहिलो बैठकले गुनासो व्यवस्थापनलाई पहिलो एजेण्डामा राखेपछि स्थापना गरिएको कल सेन्टरमा फोहोर व्यवस्थापन, खानेपानी र ढलको समस्यामै काठमाडौंबासीका मुख्य मुद्दा बन्ने गरेका छन् । महानगरले गुनासो सुन्ने तीनवटा टेलिफोनमा दैनिक ६० देखि ८० वटासम्म यस्तै गुनासो रेकर्ड गर्ने गरेको छ ।
काठमाडौं महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार गत २३ गते देखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको छ । मत माग्ने क्रममै हाल प्रमुख रहेका बालेन्द्र शाहले जनताले महानगरसँग आफ्ना विषयमा प्रश्न सोध्न पाउनुपर्ने र आफूले त्यसको सम्मान गर्ने बताउनुभएको थियो ।
महानगरबासीले गरेका गुनासो स्वयं प्रमुखको कानमा पुगी कार्यान्वयन तहमा जाने बताइएको छ । महानगरबासीको गुनासो निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा रेकर्ड गर्न सकिने छ । महानगरका सहायक प्रवक्ता अनुसार कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सक्ने भएपनि हाल ३ वटा टेलिफोन मात्र सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो कल डिटेल महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था भएको र गुनासो तत्काल सम्बोधन हुने व्यवस्था मिलाएको काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेले बताउनुभयो ।
एक हप्तामा २२ सय बढी गुनासो रेकर्ड भैसकेको छ । महानगरकाअनुसार गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण भरिन्छ । विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउने गरिन्छ ।
यो प्रणाली कार्यालय समयमा सञ्चालन गरिन्छ । तर गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अंङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्