१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कोरोना व्यवस्थापनमा पारदर्शिता र सदाचार कायम गरः ट्रान्सपरेन्सी इन्टरनेशनल


0
Shares

काठमाडौं, बैशाख १० । कोरोना भाइरसका सम्बन्धमा तीनै तहका सरकारबाट भइरहेको र हुने विपद् व्यवस्थापनमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले माग गरेको छ ।

संस्थाका महासचिव मुकुन्दबहादुर प्रधानले १० बुँदे विज्ञप्ति जारी गर्दै सरकार र संघ–संस्थाभित्रैबाट कोभिड–१९ सम्बन्धी कार्यलाई पारदर्शी बनाउने, अनियमितताबारे जानकारी दिने कर्मचारीलाई कारवाही नहुने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

कोरोना रोकथाम गर्ने केन्द्र, प्रदेश र स्थानीय सरकार एवं तिनका निकायको समन्वयात्मक काममा जवाफदेहिता बढाउन, तीनै तहको सरकारबाट विनियोजित बजेट र संकलित रकमका साथै तिनको प्रयोग एवं खर्चको विवरण सर्वसाधारणका लागि पारदर्शी बनाउन पनि टिआई नेपालले माग गरेको छ ।

‘कोभिड–१९ संक्रमण रोक्न केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्ययोजनामा भ्रष्टाचार एवं अनियमितता हुनबाट रोक्ने, भएको खण्डमा कडा कारवाही गर्न जरुरी छ’, विज्ञप्तिमा भनिएको छ ।

रोकथामसम्बन्धी उपकरण, सामग्री तथा औषधि सार्वजनिक खरिद प्रक्रिया र ऐन–कानूनबमोजिम तोकिएका, जिम्मेवार तथा विशिष्टिकृत निकायबाट किफायतीरुपमा गरिनुपर्ने पनि टिआईले भनेको छ ।

रोग नियन्त्रणमा सहयोगी औषधि, मास्क, स्यानिटाइजर, साबुन, चस्मा, सुरक्षित लुगा, भेन्टिलेटर आदि सरकारबाट तोकिएका स्वास्थ्य संस्थामा यथाशीघ्र उपलब्ध गराउन पनि भनिएको छ ।

सरकारीस्तरबाट हुने कोरोना रोकथाम एवं नियन्त्रणसम्बन्धी सबै प्रकारका विपद् व्यवस्थापनका प्रयासमा मानव अधिकार र जनचाहनालाई केन्द्रबिन्दु बनाइनुपर्ने, यसमा भएका सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरुपमा निर्देशन, अनुगमन तथा सुपरीवेक्षण गर्नुपर्नेमा पनि टिआई नेपालले जोड दिएको छ ।