२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विपद्मा उद्धार र प्रतिकार्यको लागि सेनाद्वारा अभ्यास प्रदर्शन


143
Shares

बैतडी । प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा रहेको हनुमानध्वज गुल्मको नेपाली सेनाको टोलीले ‘मनसुन अभ्यास-२’ कृतिम घटना अभ्यास प्रदर्शन गरेको छ ।

विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्ने विषयमा सन्देश दिन दशरथचन्द नगरपालिका-४ स्थित टुँडिखेलमा उक्त अभ्यास प्रदर्शन गरिएको हो ।

नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धार, ग्याँस सिलिण्डर आगलागी सम्बन्धी अभ्यास गरेको हो । नेपाली सेनासँगै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु र रेडक्रसका व्यक्तिहरुले कृतिम घटना अभ्यास गरेका थिए ।

बाढी र पहिरोमा फसेका स्थानीयको खोज तथा उद्धार, उपचार र राहतका क्रियाकलाप गरिएका थिए । मनसुन पूर्वको तयारी र जिल्ला विपद प्रतिकार्य सम्बन्धि बनेका योजनाहरुको कार्यान्वयन गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ । कार्यक्रममा नदीमा खोज तथा उद्धार, पहिरो, ग्यास सिलिण्डर आगलागीको अभ्यास गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो ।

पहिरो र आगलागीका बेला नेपाली सेनाले उद्धार तथा प्रतिकार्यमा कसरी खटिन्छ भन्ने नमुना देखाइएको थियो । यसका साथै विपदका बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गरिएको हो ।

मनसुनजन्य विपदहरुको प्रभावकारी प्रतिकार्य गरी धनजनको क्षतिलाई न्यूनीकरण गर्न अभ्यास सञ्चालन गरिएको सेनानी रानाले बताउनुभयो । वर्षायामको समयमा बाढी डुवान एवं पहिरोजस्ता प्राकृतिक विपदबाट हुनसक्ने क्षतिलाई मध्यनगर गरी प्रभावितलाई तत्काल उद्धार र राहतका लागि साेही अभ्यासले मद्दत पुग्नेछ ।

विपद जुनसुकै अवस्थामा पनि आउन सक्ने भएकाले सेना तयारी अवस्थामा रहेको र नागरिक सेना सम्बन्ध नजिकको बनाउन यो कार्यले सहयोग पुग्ने उहाँकाे तर्क छ ।

कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रसिंह भारतीले सेनाले गरेको उक्त अभ्यासले विपदको बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।