
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
त्यसैगरी उहाँले मल कारखानाको स्वदेशमै स्थापना गर्नुपर्ने, मलको खरिद जिटूजी प्रक्रियामा अघि बढाउन सकेमात्रै नेपालमा मलको समस्या समाधान गर्न नसकिने स्पष्ट पार्नुभयो । मन्त्री यादवले असार १५ गते भित्र किसानहरुका लागि मल उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनुभयो । भारत सरकारले ५ लाख मेट्रिक टन मल चालू आर्थिक वर्ष भित्रै उपलब्ध गराउने आश्वासन दिएकाले सो समस्या समाधान हुने उहाँले बताउनुभयो ।
मन्त्री यादवले मल कारखाना स्थापनाका लागि लगानी बोर्डमा सम्भाव्यता अध्ययन भईरहेको उल्लेख गर्दै छिट्टै त्यो प्रक्रिया अघि बढने आश्वासन समेत दिनुभयो । उहाँले कृषि मन्त्रालयले त्यसका लागि उद्योग मन्त्रालय र लगानी बोर्डलाई दवाव दिईरहेको पनि स्पष्ट पार्नुभयो ।
त्यसैगरी मन्त्री यादवले वेमौसमी वर्षाका कारण बालीको क्षतिपूर्ति दिने काम आफ्नो मन्त्रालयको नभएको स्पष्टिकरण दिनुभएको छ । गृह मन्त्रालयले त्यसको क्षतिपूर्ति दिने भएकाले यसका लागि पीडित किसानहरुको सूचि दिईएको उहाँले बताउनुभयो ।
मन्त्री यादवले किसान पेन्सन उपलब्ध गराउन अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भइरहेको बताउनुभयो । हालसम्म पाँच लाख किसानलाई पेन्सन दिनका लागि सूचिकृत भईरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री यादवले भूमिहीन कृषक र कृषि मजदुरहरुलाई कृषक सुरक्षा कार्यक्रममा सहभागी गराईने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्