१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘अनुमानको भरमा संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौं’


169
Shares

काठमाडौं । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गर्नुभएको हो । उहाँले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका बारेमा अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताउनुभयो ।

सभामुख श्रेष्ठले सरकारले गरेको कामको प्रभावकारीताको मूल्यांकन गरेर अघि बढ्दा नै आगामी दिन र पुस्तालाई सहयोग पुग्ने बताउनुभयो । सभामुख श्रेष्ठले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटपछि प्रदेश सरकारले गरेको कामको समीक्षा गर्ने पनि बताउनुभयो । उहाँले प्रदेश सरकारले गरिरहेका कामको समीक्षा हुन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सांसद सीता लामाले अपाङ्गता भएको व्यक्तिको लागि बजेट प्रदेशले आवश्यक बजेट छुट्याउन नसकेको बताउनुभयो । उहाँले सामाजिक वृद्धि विकास गर्ने कुरा नीतिमा कागजमै सिमित भएको तर बजेटमा आउन नसकेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सांसद सरेश नेपालले नेपाली समाजमा महिलाहरुमा सबैभन्दा ठूलो समस्या सम्पतिको अधिकारको व्यवहारिक उपयोगको रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तन र त्यसका असर ध्यानमा राखेर नदी किनारमा सडक र बस्ती बसाल्ने कुरालाई निरुत्साहीत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभाका सांसद डा.राजाराम कार्कीले दिगो विकासको लक्ष्य प्राप्त गर्नलाई प्रतिवर्ष ३४ अर्ब नेपाली पुँजीगत खर्च गर्नुपर्ने अवस्था रहेपनि साधारण खर्च बढी हुने गरेको बताउनुभयो । उहाँले नेपालको पुँजीगत खर्च गर्ने क्षमता भनेको २७ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै यसलाई वृद्धि गर्नको लागि आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारले सान्दर्भिक कार्यक्रम उठान गरेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आले मगरले नागरिकले नागरिकमैत्री ऐन भन्दापनि नागरिकमैत्री विकास चाहेको बताउनुभयो । उहाँले विकासको कुरा जनचाहनामा धेरै रहेको र त्यसपछि मात्रै नागरिकमैत्री ऐन चाहेको आफ्नो कार्यकालको अनुभव रहेको बताउनुभयो ।

सभापति आले मगरले जनताका विकासका चाहनालाई ऐन निर्माणसँगै अघि बढाउनु पर्नेमा सरकार लाग्नुपर्ने बताउनुभयो ।