८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एकीकृत समाजवादीले औंल्यायो गठबन्धनभित्र ७ समस्या


949
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका दौरान सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेको छ ।

मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा गठबन्धनभित्र देखा परेका समस्याबारे स्पष्ट उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार गठबन्धन गर्न नै नचाहने, गठबन्धनको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमानदारीपूर्वक भोट नहाल्ने र गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने समस्या देखिएको उल्लेख छ ।

त्यस्तै गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर रहेको र गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्ने प्रवृत्ति रहेको निष्कर्ष अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी देखिएको बताइएको छ ।

यसैबीच, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ५ दलका बीच भएको चुनावी तालमेल असफल भएको बताउनुभएको छ । स्थायी कमिटीबाट बाहिरिने क्रममा सञ्चारकमीसँग कुराकानी गर्दै नेता खनालले तालमेल सम्मानजनक नभएकाले परिणाम पनि नआएको बताउनुभयो । मन्त्री फिर्ता बोलाउनेबारे यसअघि नै निर्णय भइसकेकोले थप छलफल आवश्यक नरहेको खनालले बताउनुभयो ।