
काठमाडौं । मंगलबार विश्व रक्तदाता दिवस । मृत्युको मुखमा पुगेका मानिसलाई बचाउन प्रदान गरिने रगत दानमा सहभागीको सम्मानमा मनाउने यो दिवसलाई रक्तदानको महत्व र फाइदाका बारेमा जानकारी दिने दिवसको रुपमा पनि मनाउने गरिन्छ ।
मानव शरिरमा रहेका प्लाज्मा र रक्त कोषको समिश्रणबाट बनेको रातो तरल पदार्थलाई रगत भनिन्छ । यसले शरीरका कोषहरुमा पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, एन्टिबडी त्यसैगरी कार्बन डाइअक्साइड, युरिया जस्तो विकार तत्वको ओसारपसार गर्दछ । तीन प्रकारका कोषमा रहने रगतले फरक–फरक काम गर्दै आएका छन् ।
शारीरिक तौलको ७ प्रतिशत भाग हुने रगतको ६० प्रतिशत भाग प्लाज्मा हुन्छ । प्लाज्माको ९० प्रतिशत भाग पानी र १० प्रतिशत भाग पोषक तत्व रहने गर्छ । रगतको बाँकी ४० प्रतिशत भने ठोस पदार्थ जसमा रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स रहेका हुन्छन् ।
एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सानी नहुने चिकित्सकको भनाइ छ । सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्ति र ४५ केजी भन्दा बढि तौल भएका व्यक्तिको रगत बिरामीको लागि उपयोगी हुने डा. बिपीन नेपाल बताउनुहुन्छ ।
रक्तदान गर्ने मानिसले मृत्युको मुखमा पुगेको अर्को मानिसलाई मात्र बचाउने नभइ आफूलाई पनि स्वस्थ्य र निरोगी महसुस गरेको बताउँदै आएका छन् । रक्तदानमा सक्रिय रहने मानिसहरु मानवीय सहयोगका लागि पनि यस्तो कार्यमा सहभागी हुँदै आएको बताउँछन् ।
जटिल प्रकारका उपचारमा दैनिक आवश्यक पर्ने रगतको अभाव बिरामीले झेल्दै आएका छन् । यो समस्या समाधानका लागि नेपालमा कुल जनसङ्ख्याको कम्तीमा २ प्रतिशत व्यक्तिले रक्तदान गरे पुग्ने चिकित्सकको भनाई छ । मानविय सहायताको यो अभियानमा सबै नागरिकलाई जोड्न सरकारले प्रभावकारी कार्यक्रम गर्नुपर्ने डा. नेपाल बताउनुहुन्छ ।
रक्तदानलाई लिएर आम मानिसमा विभिन्न प्रकारका भय रहने गरेका छन् । तर, यो कार्यमा सहभागी हुँदै गर्दा मुटुका लागि फाइदा पुग्ने, नयाँ रक्तकोशिका बन्ने, तौल नियन्त्रण हुने र क्यान्सर हुने खतरा पनि कम हुने चिकित्सकहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्