१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


राष्ट्रपति ट्रम्पको आदेशले डीभी भिसा रोकिने


0
Shares

एजेन्सी, बैशाख ११ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिँदै आएको ग्रीन कार्ड स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै यसका असर विभिन्न क्षेत्रमा पर्ने भएको छ ।

यो आदेशले डाइभर्सिटी भिसा (डीभी) लटरी स्थगित भएको छ । जसका कारण चिठ्ठा परेर अमेरिकामा अवसर खोज्नेहरु प्रभावित हुने भएका छन् । अमेरिकाले वर्षेनी डीभी चिठ्ठा कार्यक्रममार्फत् ५० हजार मानिसलाई ग्रीनकार्ड दिने गर्दथ्यो ।

तर अमेरिकामै बसेर ग्रीन कार्डका लागि आवेदन दिएका हजारौँ विदेशी नागरिकलाई भने यो आदेशले केही फरक नपर्ने जनाइएको छ । यो आदेशले डीभी चिठ्ठामार्फत् अमेरिका जाने आशा बोकेका नेपालीलाई पनि मर्का पर्ने भएको छ ।

अहिले ६० दिनका लागि स्थगित गर्न ल्याइएको यो आदेश लम्बिनसक्ने उनले बताएका छन् । कोरोनाले अर्थतन्त्र प्रभावित पारेकाले अमेरिकी नागरिकको रोजगारी संरक्षण गर्न यस्तो आदेश जारी गर्नुपरेको तर्क उनले गरेका छन् । तर निर्वाचन हुने वर्ष ट्रम्पले विश्वव्यापी महामारीको निहुँमा अनुदारवादी आप्रवासन नीति ल्याएको आलोचकहरुको टिप्पणी छ ।

यो आदेशबाट ग्रीनकार्डधारी व्यक्तिहरूले आफ्नो परिवारका अरु सदस्यलाई अमेरिकामा स्थायी बसोबास गर्न आर्थिक दायित्व वहन गर्ने परम्परा रोक्ने अपेक्षा छ । अमेरिकी नागरिकका पतिपत्नी वा २१ वर्षमुनिका अविवाहित छोराछोरीलाई भने नयाँ आदेशले प्रभाव पर्ने छैन । यसैगरी स्वास्थ्यसेवामा काम गर्ने उद्देश्यले अमेरिका जान खोजेका चिकित्सक, नर्स र अन्य व्यक्तिले पनि छुट पाउने छन् ।

अस्थायी भिसा लिएर आउन खोज्ने कृषि श्रमिक र अन्य क्षेत्रमा सीप भएर एच वनबी भिसा कार्यक्रमबाट आउन निवेदन दिने हजारौँ व्यक्तिलाई पनि असर नपर्ने बताइएको छ । तर यो आदेशले प्रत्येक हप्ता ग्रीनकार्डका लागि पर्ने २० हजार आवेदन रोकिने अपेक्षा वाशिङ्टनस्थित माइग्रेशन पोलिसी इन्ष्टिच्यूटको छ ।

आप्रवासनसम्बन्धमा कडा नीतिका पक्षधर ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन प्रभावित पार्न कोरोना संकटको मौका छोपेर यो आदेश ल्याएको र उदार आप्रवासी नीतिका पक्षपाती डेमोक्रेटिक उम्मेदवार जो बाइडनलाई अफ्ठ्यारो पार्न खोजिएको विश्लेषण पनि गरिएको छ ।