
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतिलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ ।
आयोगको ७२औँ वार्षिकोत्सवमा राष्ट्रपति भण्डारीले आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गर्नुभयो । उहाँले यसबाट आम नागरिकलाई आयोगका सेवाहरु प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताउनुभयो ।
मुलुक आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको भन्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व सरकारी संयन्त्रको रहेको बताउनुभयो ।
उहाँले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्