८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अर्थमन्त्री शर्माले गोपनियता कायम गर्न सक्नुभएन : अध्यक्ष ओली


364
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले करको दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाउनुभएको छ ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उहाँले करको दर तोक्ने क्रममा कमिसनको खेल र व्यापारीसँग साँठगाँठ गरिएको दाबी गर्नुभयो ।

करको दर तय गर्ने काम गोप्य हुने उल्लेख गर्दै ओलीले वर्तमान सरकार र अर्थमन्त्री जनार्दन शर्माले त्यो गोपनियता कायम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

ओलीले बजेट संसद्मा प्रस्तुत गर्नुभन्दा पहिला मन्त्रिपरिषद्मा ब्रिफिङ गरिने र त्यहाँ पनि करको दर नभई बजेटको समग्र ब्रिफिङ गरिने प्रचलन रहेको बताउनुभयो । त्यहाँ रहेका मन्त्रीले करको दर र बजेटबारे सूचना चुहाउलान् भनेर प्रधानमन्त्रीसँगै संसद जाने प्रचलन रहेको ओलीले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा एमालेले महासंग्राम जितेर आएको भन्दै अध्यक्ष ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानको सुरुवात त्यहीबाट सुरु गर्नुपर्ने बताउनुभयो । एमाले नेतृत्वका स्थानीय तहमा सबै जनप्रतिनिधिले निष्ठाका साथ काम गर्न उहाँको आग्रह गर्नुभयो ।

विभिन्न खाले शक्ति मिलेर एमालेलाई पतन गराउन लागेको भए पनि त्यो सफल हुन नसकेको अध्यक्ष ओलीको भनाई छ ।