
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबार गैरआवासीय नेपाली संघले काठमाडौंमा आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगारी सम्बन्धी सेमिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले गैरआवासीय संघले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आएकाले सरकारले सबै पक्षसँग समन्वय गरी सम्बोधन गरिने आश्वासन दिनुभयो ।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरूलाई आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन आह्वानसमेत गर्नुभयो । उहाँले गैरआवासीय नेपालीले नेपाली राजदुतावाससँग समन्वय गरी विदशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्र्याउन अग्रसरता लिन आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीले स्वदेशमा उत्पादित वस्तुलाई प्राथमिकता दिनसके मात्रै पनि स्वदेशमा उत्पादित वस्तु निकासी प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा विदेशीलगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोडमा कायम गरिए पनि १० करोडसम्मको वैदेशीक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्