२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सोलुखुम्बुमा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप प्रदर्शन


52
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा आज (शुक्रबार) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको समन्वयमा नेपाली सेनाको टोलीले डेमो प्रदर्शन गरेका हुन् । वर्षायाम सुरु भएको र बाढी र पहिरोका कारण हुने प्रभावितको उद्धार र राहतका लागि जिल्लास्थित सुरक्षा निकायहरुबीच संयुक्त अभ्यास गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लक्ष्मी भट्टराईले जानकारी दिनुभयो । विपदमा परेका नागरिकको खोजी तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार, राहत सामाग्रीको बन्दो बस्ती, सुरक्षा निकायसँगको समन्वय तथा परिचालनलगायतका विषयमा केन्द्रित भएर पूर्व अभ्यास गरिएको उहाँले बताउनुभएकाे छ ।

उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरुलाईसमेत पूर्व अभ्यासले सहयोग पुग्ने र जनचेतानाका हिसाबले पनि यस्ता कार्यले मद्धत पुग्ने विश्वास समेत लिएको उहाँको तर्क छ । यस्ता विपदमा परेकाहरुको कसरी खोजी तथा उद्धार गर्ने भन्ने विषयमा गरिएका अभ्यासहरुले साच्चिकै नागरिकहरुको समस्यामा उद्धार गर्न सहयोग पुग्ने उहाँले बताउनुभएकाे छ । यस्ता विपदमा परेका नागरिकहरुको उद्धार र राहतमा नगरपालिकाले आवश्यक पर्ने सबै खाले सहयोग गर्न प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयाे।

सोलुदूधकुण्ड नगरपालिका-५ स्थित सोलुखोला छेउमा गरिएको डेमो प्रदर्शनमा निमित्त प्रजिअ लक्ष्मी भट्टराईसहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसकर्मी, अन्य राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।