१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारको मुद्दा कमजोर बनाउन वकिललाई सरुवा गरेकोमा छानविन गर्न सांसद पोखरेलको माग


208
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद कृष्णभक्त पोखरेलले ललितपुर इमाडोलका सुशिल चटौतले आफ्नो घरमा राखिएकी १३ वर्षिया बालिकालाई बलात्कार गरेको प्रकरणको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालयबाट सरकारी वकिललाई दबाब आएको बताउनुभयो ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पोखरेलले दबाब नमान्ने सरकारी वकिललाई सरुवा गरिएकोप्रति आपत्ति प्रकट गर्दै यस विषयमा गम्भिर छानविन गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘महान्यायाधिवक्ता कार्यालयबाट देशको फौजदारी न्याय प्रणालीको मुख्य अभिभावक बन्नुपर्ने थलोबाट । त्यहाँको बिन्दु रावल भन्ने महान्यायाधिवक्ताको आफ्नै स्वकिय सचिव, र सचिवालयको हरिप्रसादजीले संगिता थोकर लगायतका सरकारी वकिलहरुलाई त्यो भिडियो तिमिहरु किन राख्छौँ ? त्यो मुद्दा कमजोर बनाउ विभिन्न ढंगबाट भनिन्छ । जब त्यो कुरा मानिदैन । हिजो मात्रै उनलाई तत्कालै सरुवा गरेर काठमाडौं बाट हटाइन्छ । यस हिसाबबाट देशको जुन मुख्य जिम्मेवार निकाय हो त्यो निकायबाटै अनुसन्धान यस ढंगबाट प्रभावित गर्ने, दबाबमा राख्ने र दबाब नमान्दा सरुवा सम्म गर्ने परिस्थिति जो निर्माण भएको छ, राज्य नै शासक वर्ग नै अथवा सत्तापक्ष नै यो ढंगबाट चाहानुहुन्छ भने हाम्रो भन्नु केही छैन । होइन भने तत्काल अनुसन्धान गरेर सत्यतथ्य के हो ? यो देशमा विधि, कानून मानिन्छ भने महान्यायाधिवक्ता अथवा कसैले उन्मुक्ति पाउनु हुँदैन । यो विषयमा गम्भिरतपूर्वक छानविन होस् भनेर म निवेदन गर्न चाहान्छु ।’

उहाँले महिलामाथिको शोषण, दमन र विभेद बढिरहेको बताउनुभयो । महिलाहरुमाथि यौनजन्य हिंसाहरु बढिरहेको उल्लेख गर्दै उहाँले प्रभावकारी अनुसन्धान हुन नसकेको बताउनुभयो ।