२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालमा भएकामध्ये १ सय प्रजातिका च्याउ मात्र विषालु

विज्ञ भन्छन्, ‘बुझाउन सके च्याउ खाएर हुने मृत्यु शून्यमा झार्न सकिन्छ’

624
Shares

काठमाडौं । जंगली विषालु च्याउ खाँदा भोजपुर र ओखलढुंगामा केही दिन अघि तीन जनाको ज्यान गयो । नेपालमा वर्षेनी जंगली च्याउ खाँदा थुप्रै व्यक्तिहरूको मृत्यु हुने गरेको छ ।

नेपालको हिमाली र पहाडी क्षेत्रमा प्रशस्त जंगलीमा च्याउ पाइन्छ । प्राचिनकालदेखि यस क्षेत्रका स्थानीयले परम्परागत ज्ञानको आधारमा च्याउ खाँदै आएका छन् । नेपालमा १२ सय ९१ प्रजातीको च्याउ पाइन्छ । तीमध्ये ३४ प्रजाती विश्वका अन्य देशमा पाइँदैन ।

१२ सय ९१ च्याउमध्ये खानयोग्य १ सय ५९, औषधिजन्य ७४ र विषालु १ सय प्रकारका प्रजातीका छन् । स्थानीयले भुत च्याउ भन्ने एमानिटा भाइरोसा, एमानिटा भर्ना, एमानिटा फाल्वाइडस र एमानिटा मस्केरिया लगायतका च्याउ एकदमै विषालु हुने विशेषज्ञ डा. शिव देवकोटा बताउनुहुन्छ ।

९५ प्रतिशत एमानिटा प्रजातीको विषालु च्याउ खाएर मानिसको मृत्यु हुने गरेको उहाँको भनाइ छ । तत्काल अस्पतालमा गएर उपचार सुरु गरेमा उनीहरूको ज्यान जोगाउन सकिने डा. देवकोटाको सुझाव छ ।

च्याउको बारेमा ज्ञान नहुँदा धेरै मानिसको मृत्यु हुने गरेको डा. देवकोटा बताउनुहुन्छ । धेरैजसो तामाङ, राई, लिम्बु र मगर समुदायका मानिसहरूको च्याउ खाएर मृत्यु भएको उहाँको भनाइ छ ।

नेपालमा तुलनात्मक रूपमा विषालु च्याउ कम भएकाले विषालु च्याउ चिन्न सके मृत्यु कम गर्न सकिने उहाँको सुझाव छ । यसको लागि जंगल छेउमा बस्ने मानिसहरूमा च्याउको विषयमा जानकारी गराउनु नै महत्त्वपूर्ण हुने डा. देवकोटा बताउनुहुन्छ ।

नेपालमा च्याउको विषयमा अनुसन्धान भएको २ सय वर्ष भए पनि जंगली च्याउको विषयमा अहिलेसम्म प्रयाप्त अनुसन्धान नै नभएको विज्ञहरू बताउँछन् । च्याउ खाएर हुने मृत्युलाई कम गर्नका लागि भए पनि अनुसन्धानलाई व्यापकता दिनुपर्ने उनीहरूको भनाइ छ ।

तसर्थ जंगली च्याउको विषयमा सघन अनुसन्धान गर्न र स्थानीयमा जनचेतना जगाउन सके मात्र च्याउ खाएर हुने मृत्यु हुनेको संख्या शून्यमा झार्न सकिन्छ । साथै खान योग्य र औषधिजन्य जंगली च्याउको व्यावसायिक उत्पादन गरेर अन्तराष्ट्रिय बजार पु¥याउन सके देशको अर्थतन्त्रमा टेवा पुग्न सक्ने देखिन्छ ।